हामी को हौँ

हिन्दुकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ज्ञान तथा सिकाइकालागि एक अन्तर्सरकारी केन्द्र हो । हाम्रो मुख्यालय नेपालको काठमाडौँमा अवस्थित छ तथा हामी आफ्ना आठ क्षेत्रीय सदस्य राष्ट्र अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बंगलादेश, भारत, भुटान तथा म्यानमारमा कार्यरत छौँ ।

हामी हिन्दुकुश हिमालयका महिला, पुरुष तथा बालबालिकाका जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत छौँ । हामीले उत्पादन गर्ने तथा साझा बनाउने ज्ञानले हामी हिन्दुकुश हिमालयका मानिसहरूलाई अझै जुझारु बनाउन, अवसरको अधिकतम उपयोग गर्न तथा आउँदा परिवर्तनका सापेक्ष तयार रहन सघाउँछ । हाम्रो कामले संरक्षण तथा दिगो पर्वतीय विकासबारे क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउँछ ।

हामी के गर्छौँ

अद्वितीय पर्वतशृंखला र विविध जीवन, मानिस, संस्कृति तथा जैविकविविधता रहेको तथा जल, उर्जा र अन्य प्राकृतिक स्रोतसाधनले धनी हिन्दुकुश हिमालय क्षेत्र विश्वकैलागि अमूल्य सम्पदा हो । यथार्थमा यो क्षेत्र हाम्रो ग्रहको अनन्य ढुकढुकी हो — यस्तो ठाउँ जसबाट हामीले आफ्नो यस जीवन्त विश्वको स्वास्थ्य अवस्था अनुमान गर्न सक्छौँ ।

हाम्रो ग्रहको जिउँदो ढुकढुकी यस हिन्दुकुश हिमालय क्षेत्र अहिले निर्बल भएको छ । हिन्दुकुश हिमालय क्षेत्र अहिले वातावरण क्षय, पर्यावरणले झेल्न नसक्ने गतिमा भैरहेको विकास कार्य, जलवायु परिवर्तनका जटिल असरहरू तथा आर्थिक र सामाजिक अन्यौल आदि विभिन्न कारणबाट खतरामा छ । अध्ययन अनुसन्धानमा एक कदम तथा विकास कार्यमा अर्को कदम राखेर काम गर्दै हामी नीतिनिर्माणमा प्रभाव पार्दै विश्वको सबैभन्दा जटिल क्षेत्रमध्ये एकमा दिगो विकासलाई प्रवर्धन गर्न प्रयत्नरत रहन्छौँ ।

हाम्रो ज्ञान त्यस्तो सम्पदा हो जसलाई सबैबीच बाँड्ने हाम्रो दृढ निश्चय छ । हामी ज्ञान सिर्जना गर्छौँ, समस्याहरूलाई बुझ्ने प्रयत्न गर्छौँ र अध्ययनकार्य सहजीकरण, तथ्यांक उत्पादन तथा उत्तम अभ्यास आदानप्रदान मार्फत सम्भावित समाधान प्रस्तुत गर्दछौँ । हामी सूचना आदानप्रदान गर्छौँ र हिन्दुकुश हिमालय क्षेत्रबारे आफ्नो डाटालाई विश्वव्यापी अध्ययनहरूमा सामेल गर्दै क्षेत्रीय तथा विश्वव्यापी आदानप्रदानकालागि स्थान सिर्जना गर्छौँ ।

हामी जलवायु परिवर्तन तथा वैश्वीकरणजस्ता शक्तिले स्रोतसाधन तथा समुदायहरूलाई जोखिमतर्फ धकेलिरहेका देश तथा संस्कृतिमाझ काम गर्दछौँ । हामी पर्वतीय विषयबारे चेतना अभिवृद्धि गर्छौँ तथा पर्वतका स्वरलाई विश्वव्यापी मञ्चमा बुलन्द गर्छौँ । हामी विभिन्न श्रेणी, संस्था तथा विधामाझ काम गर्दै यस क्षेत्रका राष्ट्रहरूलाई विज्ञान तथा ज्ञानको सेरोफेरोसँग गाँस्दछौँ ।

यो ढुकढुकीलाई जोगाऔँ

हिन्दुकुश हिमालय क्षेत्र हाम्रै वरिपरिको संसारको एक लघुरूप हो । यो क्षेत्र जीवन, संस्कृति, सौन्दर्य तथा जैविकविविधतामा समृद्ध छ । तर जलवायु परिवर्तनका प्रभाव यहाँ सन्निकट छन् । हिन्दुकुश हिमालय क्षेत्र धेरै समयदेखि उपेक्षित रहेकोछ तर हामी हिमालय भेगमा वा विश्वको जहाँसुकै भएपनि यस भेगमा जे हुन्छ त्यसको प्रत्यक्ष तथा परोक्ष प्रभाव परिरहेको हुन्छ भन्ने बुझ्नु आवश्यक छ — यहाँ जे हुन्छ त्यसको प्रभाव विश्वभरिमै पर्दछ । हाम्रा पर्वतहरू यस ग्रहकै ढुकढुकी हुन् र यसैलाई जोगाउन हामी यहाँ छौँ ।