किन बढेको तुवाँलो ?

   TwitCount
Arnico Panday
Bhaskar Singh Karky

केही वर्षयता नेपाल वायु प्रदूषणको चपेटामा पर्दै आएको छ । सुक्खा मौसमभरि हामीलाई खोकीले सताउँछ भने हिमाल देख्न पाउने दिनपनि दुर्लभ हुँदै गएका छन् । यसका लागि नेपालभित्रकै कैयौं वायु प्रदूषणका स्रोत, जस्तै– खुला आगो, यातायातका साधन, खाना पकाउने चुलो, इँटा कारखाना र अन्य उद्योग जिम्मेवार छन् ।   

तर नेपालमा अन्य मुलुकबाट समेत ठूलो मात्रामा प्रदूषण भित्रने गरेको छ । उपग्रहबाट लिइएका तस्बिर र कम्प्युटर अनुकरणमा देखिएअनुसार भदौदेखि जेठसम्म घना बस्ती भएको भारतको गंगा मैदानबाट सिर्जित वायु प्रदूषण नेपालतिर प्रवेश गर्छ र हाम्रा उपत्यका र बेसीहरु ढाक्ने गरी फैलन्छ ।

बितेको एक महिना नेपालको धेरैजसो भाग नजिकैको पहाड देख्नसमेत मुस्किल पर्नेगरी तँुवालोले ढाकेको छ । चितवनको सौराहानजिकै स्थापना गरिएको नयाँ वायुमण्डलीय अवलोकन स्थलले हालै पिएम २.५ अर्थात् २.५ माइक्रोमिटरभन्दा साना कणहरुको मात्राको अभिलेख राखेको थियो जुन गत सालको चैत २८ गते उच्च विन्दुमा पुगेको थियो, विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा नौ गुणा बढीे । उपग्रहबाट लिइएका तस्बिर हेर्दा के थाहा भयो भने हालैका दिनमा भारतको गंगा मैदानलाई भन्दा नेपाललाई नै बाक्लो तँुवालोले ढाकेकोे छ । चितवनमा रहेको वायुमण्डलीय अवलोकनस्थलले तुलनात्मकरूपमा उच्च आर्द्रता देखाएको छ जसले गर्दा प्रत्येक धुँवाका कणमा पानी जम्न गई टाढासम्म देख्न कठिन भएको छ ।

जमिनबाट हेर्दा भने पहाडहरु डढेलोले गर्दा बलेका देखिन्छन् । गोरखाको एउटा डाँडोबाट हेर्दा हामीले प्रत्येक रात २० ठाउँमा आगलागी भएको देख्यांै । झट्ट हेर्दा पहाडलाई सुन्तलाको लामो सिक्रीले बेरेजस्तो देखिन्थ्यो । नासाको उपग्रहले नेपालको जंगलमा लागेको डढेलोको सानो अंशमात्र खिच्न सक्यो (र, हामीले आफ्नै आँखाले देखेको धेरैजसो डढेलो छुटाउन पुग्यो) । तर पनि नासाले नेपालमा लागेको डढेलो अरु वर्षमा भन्दा धेरै ठूलो संख्यामा भेट्यो र उक्त विषयमा एउटा लेखसमेत प्रकाशित ग¥यो ।

वैशाखको सुरुतिर गोरखाका सामुदायिक वन उपभोक्ता समूहका सदस्यले त्यस क्षेत्रको धेरै भागमा आठ महिनादेखि पानी नपरेको जानकारी दिए । वनमा लागेको डढेलो र पानीका मुहान सुकेकामा सबै जना चिन्तित थिए । जिल्लाभरिको वायुमण्डलमा तँुवालो लागेको थियो । बलेको दाउराबाट निस्केको गन्ध र सालको रुख जलेपछि फैलिएको खरानी हावामा मिसिएको थियो ।

वनमा डढेलो किन सुरु हुन्छ त ? लगभग सबैजसो डढेलो मान्छेकै गतिविधिका कारण लाग्ने गर्छ । पहिलो, किसानले जंगल भएका डाँडापाखामा घाँस पलाउँछ भनेर झारपातमा आगो लगाउँछन् । बर्र्सेनि यतिबेला किसानहरुसँग वस्तुभाउका लागि पर्याप्त घाँसपात हुँदैन । र, डढेलोपछि उम्रने घाँसले उनीहरुलाई आफ्ना गाईवस्तुका लागि खानेकुरा जोहो गर्न मद्दत गर्छ । दोस्रो, किसानहरु आगो लगाएर आफ्नो खेत सफा गर्न रुचाउँछन् । मुलुकभरि खेतमा काम गर्ने कामदारको कमीले गर्दा किसान आफ्नो खेत तयार पार्न यस्तो कामदार आवश्यक नपर्ने प्रविधि अपनाउँछन् । वसन्त ऋतुमा हावाहुरी चल्नु सामान्य कुरा हो । यसपालाको जस्तो लामो समय खडेरी परेको बेलामा नियन्त्रित आगो पनि तुरुन्तै डढेलोमा परिणत भई फैलन सक्छ । गोरखामा धेरैजसोले खेती लगाउने तयारीस्वरूप डढेलो लगाएको पाइयो, यद्यपि खेतीयोग्य जमिनमा आगो लगाउँदा उत्पादन बढ्छ भन्ने वैज्ञानिक आधार भने कहीँ कतै भेटिन्न । तेस्रो, मानिसले डाँडोमा आगो लगाउँछन् ताकि त्यसबाट निस्केको खरानी मुनिपट्टि खेतमा झरोस् र त्यसलाई मलका रूपमा प्रयोग गर्न सकियोस् । चौथो, केही ठाउँमा डढेलो लापरबाहीले गर्दा सुरु हुन्छ (जस्तै– चुरोटको ठुटो ननिभाई फ्याँक्दा) र केही नियतवश वन विनास गर्न लगाइन्छ । वनको गस्ती र निरीक्षण दिनभरिमात्र गरिन्छ तर डढेलो या त साँझमा या राति लगाइन्छ ।

यस वर्षको लामो खडेरीका कारण सामुदायिक वन उपभोक्ता समूहहरु डढेलोबाट बितेको वर्षमा बढेको वन विनास हुने तथा घर र गाईवस्तुसमेत जोखिममा पर्ने भएकाले चिन्तित छन् । डढेलो नियन्त्रण गर्ने र आगो निभाउने क्रममा कैयौँ मानिस घाइते भएका छन् ।यस वर्ष डडेलोको संख्या र त्यसबाट जलेको क्षेत्र निकै धेरै देखिन्छ । यसको एउटा मुख्य कारण लामो समयदेखिको खडेरी हो । यसले गर्दा छिटै आगो लाग्ने सुक्खा घाँस र अरु ऊर्जाको उत्पादन बढेकोमात्र छैन, यसबाट गाईवस्तुलाई चाहिने आहारमा समेत कमी आएको छ । परिणामतः किसानमाथि सुक्खा घाँस डढाएर नयाँ घास उमार्न दबाब परेको छ । यो खडेरी सन् २०१५–२०१६ को कडा एलनिनो (प्रशान्त महासागरको सतहको पानीको तापक्रममा भएको परिवर्तनले विश्वभरिको सुक्खा र वर्र्षे क्षेत्रमा पार्ने मौसमी प्रभाव) का कारण भएको हुनसक्छ ।

नेपालमा जंगलमा डढेलो लगाउनु गैरकानुनी काम हो तर यहाँ कानुन कार्यान्वयन फितलो छ । वन व्यवस्थापनसम्बन्धी योजनाहरुमा यसलाई लागु गर्न पर्याप्त ध्यान दिइएको छैन र आगो फैलिने बाटो (जुन अत्यन्त साँघुरो हुन्छ) र जनचेतना जगाउने कार्यक्रम (जस्तै– एफएम रेडियोबाट आगो लगाउन नपाइनेबारे सूचना प्रसारण) मै बढी ध्यान दिइएको पाइन्छ । जिल्ला वन कार्यालयहरु, सामुदायिक वन उपभोक्ता समूहहरु र जिल्ला विकास समितिहरुसँग डढेलो निभाउन आवश्यक उपकरण र जनशक्ति अभाव छ । डढेलोलाई प्रभावकारी ढंगले कम गर्न वन सञ्चालन कार्ययोजनाले सुक्खा मौसममा सुक्खा पदार्थ सञ्चितिको समस्या समाधान गर्नुपर्छ । तालिम र स्रोतसाधन उपलब्ध गराउनुपर्छ । डढेलो लगाउनेलाई कारबाही र जरिवानाको परिपाटी बसाउनुपर्छ ताकि खुला ठाउँमा आगो बाल्दा मानिस सचेत होउन् ।

पछिल्ला डढेलोले तुवाँलोको मात्रा द्रुतगतिमा बढाइदिएको यथार्थ भए पनि त्यसअघिको वायुमण्डल स्वच्छ थियो भन्नेचाहिँ होइन । डढेलोले पहिल्यै प्रदूषित वायुलाई झनै प्रदूषित पारेको छ । हिउँद र वसन्त ऋतुमा गरिएका प्रदूषण मापनअनुसार नेपालका धेरै ठाउँमा वायु प्रदूषणले विश्व स्वास्थ्य संगठनले जारी गरेको सीमा नाघेको हुन्छ । साँच्चै नै नेपालको वायुको गुणस्तर सुधार्ने हो भने इँटाभट्टाहरुको सफाइ गर्नुप¥यो, भट्टामा पोल्नु नपर्नेखालका निर्माण सामग्री प्रयोग गर्नुप¥यो अनि उद्योगहरुमा प्रदूषण नियन्त्रक उपकरणहरु जडान र प्रयोग गर्नुप¥यो । त्यसका लागि गन्धक कम भएको इन्धन प्रयोग र डिजेलबाट चल्ने जेनेरेटर र यातायातका साधनमा डिजेल कण छान्ने उपकरण जडान गर्नुपर्ने हुन्छ ।

त्यसका लागि हामीले हाल परम्परागत चुलोमा खाना पकाइरहेका चालीस लाख घर परिवारलाई सफा र धुवाँरहित चुलोतिर लैजान जोडबल गर्नुपर्ने हुन्छ । नेपालभित्र गर्न सक्ने उपायबाहेक हामीले सिमानापारिबाट कति मात्रामा प्रदूषण आउँछ भन्ने तथ्यांक बटुल्नुपर्ने हुन्छ । र, बाहिरबाट पहाडी र हिमाली भेगमा आउने प्रदूषण घटाउन क्षेत्रीय र अन्तर्राष्ट्रि«यरूपमा आवाज उठाउनुपर्छ ।