शहरी बाढी र क्षती न्यूनिकरणका उपायहरु

   TwitCount

२०७४ साल आषाढ ३१ गतेको दैनिक पत्रपत्रिकाहरूमा हेडलाइन समाचार छापिएको थियो । केवल दुई घण्टाको अविरल वर्षाको कारणले काठमाण्डौको सामाखुसीमा आएको ढलको बाढीमा स्कूल सकेर फर्किरहेकी एक १० वर्षकी बालिकाको खुल्ला ढलभित्र परेर मृत्यु भयो भने अर्की १३ वर्षिया बालिका भने मुस्किलले बाँच्न सफल भइन् । यही श्रावण २८ गते कर्मनाशा तथा नख्खु खोलामा आएको बाढीले हात्तीवन तथा नख्खु क्षेत्रका थुप्रै घरहरू डुबानमा परे । अब यहाँ प्रश्न उठ्छ, देशको मुटु राजधानीमा किन यस्तो घटना घट्न जान्छ ? किन हरेक वर्षायामसंगै ठाउँठाउँमा बाढी र पहिरोमा हजारौंको संख्यामा ज्यान गुमाउनु पर्छ भने हजारौं विस्थापित हुन पुग्छन् ? नेपालीहरूले भोग्नुपर्ने यो नियति एउटा विडम्बना भएर प्रस्तुत भैरहेको छ । नेपालमात्रै होइन, दक्षिण एसियाली मुलुकहरूमा नै यो समस्या भयावह भएर देखा परेको छ । गत वर्ष, केही घण्टाको अविरल वर्षाले भारतको राजधानी शहर दिल्ली डुबानमा परेको थियो । हजारौं हजार यात्रीहरू बिचल्लीमा परेका थिए, जसमध्ये अमेरिकाका विदेशमन्त्री जन केरी पनि हुनुहुन्थ्यो । नेपालमा सरदर रूपमा वार्षिक २५० भन्दा बढी व्यक्तिहरूले बाढी तथा पहिरोको कारण ज्यान गुमाउनु परेको यथार्थ रहेको छ, जुन एकदम उच्च हो । 

बाढीको प्रकोप मूलतः भौगोलिक बनावट, वर्षाको मात्रा तथा जमिनको उपयोगमा आधारित हुन्छ । वर्षाको मात्रा एकै भए तापनि शहरी तथा ग्रामीण क्षेत्रमा बाढीको स्वरूप तथा प्रभाव फरक भएको हामी पाउँदछौं। शहरी क्षेत्रको जमिनमा प्रायः अग्ला–अग्ला घरहरू निर्माण हुने तथा पक्की सडकको कारणले तथा विभिन्न भौतिक पूर्वाधारले वर्षाको पानी सिधै जमिनले सोसेर लिन नसक्दा पानीको बहाव सतहमा आउँदा बाढी जस्तो देखिन्छ । पहाडमा भिरालोको कारण ठूलो वर्षा हँुदा भलको रूपमा आकस्मिक बाढी आउने ९ाबिकज ायियम० र त्यस्तो भल बगेर जाने हँुदा एकै क्षणमा त्यसले विनाश सिर्जना गर्न सक्छ भने तराई जस्तो समथर क्षेत्रमा कैयौं दिनसम्म त्यस्तो पानीभित्र बस्ती डुवानमा पर्ने गरेका छन् । शहरी क्षेत्रमा यस्तो अवस्था आउनुकोे कारण के हो र समाधानका उपायहरू के हुन् ? यहाँ केही विवेचना गर्न खोजिएको छ । 

बाढीका कारणहरू

  • जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्रमा औसत तापक्रम गत ६० वर्षमा १.५ डिग्री सेल्सियस ले वृद्धि भएको छ जुन विश्वको औसत तापक्रम भन्दा २.५ गुणा बढी देखिन्छ । यसको कारणले कुनै–कुनै ठाउँमा अत्यधिक वर्षा हुन गैरहेको छ भने कुनै–कुनै ठाउँमा सुक्खा हुन गएको छ, यस्तो अवस्थालाई खण्डवृष्टिको रूपमा लिइन्छ । केही छोटो समयको लागि भए पनि अत्यधिक वर्षाका कारण निम्त्याएको बाढीले धेरै धनजनको क्षति हुुन गएको छ । चार वर्ष अगाडि भारतको उत्तराखण्ड प्रदेशको केदारनाथ मन्दिर क्षेत्रमा यही हुन गएको थियो । यसबाट हामीले नसोचेको क्षति हुन गयो ।
  • शहरी क्षेत्रमा बढ्दो जन घनत्वका कारण बस्ती बिकास दु्रतगतिले भइरहेको छ । खुल्ला जमीनहरु पक्की घर तथा बाटोहरु मा परिवर्तित भएका छन् । जमीनको उपयोगमा आएको यस्ता बदलिंदो अवस्थाले शहरी क्षेत्रमा पानी सतहमा बढी बग्ने र भेल आउने गरेको छ ।    
  • नेपालमा बसाइ–सराइको अवस्था तिब्र्र रहेको छ । जनताहरू स्वास्थ्य, शिक्षा र अन्य कुनै न कुनै बहानामा विस्थापित भएर शहर पस्ने गरेका छन् । यसबाट बढ्दो जनसंख्याका कारण अव्यवस्थित शहरीकरण हुन गएको छ । नदीनालाले बनाएको बगर च्यापेर घर, टहराहरू निर्माण हुने गरेका छन् । नदीको बहावको क्षेत्र संकुचित बनाइएको छ । हिउँदमा खोलानालामा पानीको मात्रा कम हँुदा त ठिकठाकै देखिन्छ तर वर्षायाममा तिनै खोलानाला बढ्दा काल बन्न गएका छन् र ठूलो विनाश निम्त्याएको छ । 
  • प्लाष्टिक र प्लाष्टिकले बनेका बस्तुहरू कुनै न कुनै रूपमा प्रयोग भैरहेका छन् । तिनको समुचित व्यवस्थापन तथा पुनःप्रयोगको नीति नहुँदा पनि यत्रतत्र प्लाष्टिकका कागजात, ब्याग, बोतल आदि बाहिर सडकमा Çयाँकिदिने गर्नाले बर्षात्को पानीसँग बगेर ती चिजहरू ढलमा मिसिन जाने र नकुहिने हुनाले ढललाई नै बन्द गरिदिने र त्यसको सरसफाइ नहँुदा पनि यदाकदा शहरी सडकमा भेल आउने र त्यस्तो बाढीको प्रकोपबाट पनि जनताहरूले सास्ती भोग्न बाध्य हुनुपरेको छ । 
  • हाम्रा विकासका योजनाहरू एकआपसमा तारतम्य मिलाएर अगाडि बढाउन नसक्दा पनि जल–उत्पन्न प्रकोपको शिकार जनता हुनुपरेको छ । उदाहरणको लागि ढल निर्माण, बिजुली तथा टेलिफोनको अण्डरग्राउन्ड तार जडान, खानेपानीको पाइप बिछ्याउने, सडक चौडा पार्ने, जस्ता निर्माण कार्यहरू एकआपसमा समन्वयात्मक सूचना तथा योजनाको आधारमा हुनुपर्नेे थियो । तर त्यसो नगरिँदा एकै खण्डको सडक पनि विभिन्न प्रयोजनको लागि वर्षभरि नै खन्ने–भत्काउने कार्य हुने गरेको देखिन्छ । यसले गर्दा सानोतिनो झरी तथा वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ । 
  • कतिपय परियोजनाहरू समयमा सम्पन्न हुन नसकेको र ठेकेदारले बीचैमा काम त्याग्ने, वा बढी समय लाग्ने आम समस्याको रूपमा रहेका छन्। वर्षायामको समयमा आएर यस्तो कार्यबाट हुने ढिलाइ र अलपत्र छोडेको सडकका खाल्डाखुल्डीमा परेर ज्यान गुमाउने अवस्था पनि परेको छ । 

समाधानका उपायहरू ः– 

  • सर्वप्रथम बाढीजन्य क्षतिलाई न्यूनीकरण गर्न सरकारले भू–उपयोग नीति ९ीबलम ग्कभ एयष्अिथ० कार्यान्वयनमा ल्याउन जरुरी छ । नेपालको लागि यो प्रमुख चुनौतीको रूपमा रहेको छ । कहाँ बाटोघाटो बनाउने, कहाँ सार्वजनिक स्थान तथा उद्यानहरू बनाउने, कहाँ कलकारखाना तथा उद्योगहरू राख्ने, कहाँ व्यापारिक तथा प्रशासनिक निकायहरू राख्ने, कहाँ शैक्षिक तथा मनोरञ्जन आदि क्षेत्र विकास गर्ने, सरकारले हरेक बस्ती विकास गर्नुभन्दा अगावै त्यस्तो नीति, कार्यक्रम र ऐन नियमको व्यवस्था गर्नु जरुरी छ । वन क्षेत्रको विनाश तथा रुख कटान आदि रोकिनु पर्दछ । जलाधार संरक्षणमा जोड दिनु पर्दछ । व्यवस्थित शहरीकरणको योजना लागू गरिनु अत्यन्य जरुरी छ । 
  • सरकारी तथा गैरसरकारी निकायहरूको बीचमा पनि बस्ती विकासको लागि समन्वय हुनु जरुरी छ । उदाहरणको लागि ढल निकास, बिजुली, सडक, पानी तथा टेलिफोन सेवा प्रदायक संस्थाहरूका बीचमा आपसी समन्वय गरी काम गर्न जरुरी देखिएको छ । भत्काइएको वा उप्काइएको सडकको मर्मत तथा सुधार कुन निकायबाट गर्ने भन्ने अन्यौलता हटाउन जरुरी देखिएको छ । 
  • खण्ड–खण्डको आधारमा गरिने लगानीले शहरी ढलको पूर्वाधार चाहे जस्तो वैज्ञानिक नहुन सक्छ । अर्को शब्दमा भविष्यको जनसंख्या र बस्ती वृद्धिलाई आँकलन नगरी गरिएको त्यस्तो भौतिक पूर्वाधार लगानी व्यर्थ हुन सक्छ । फलस्वरूप त्यस्तो ढल कालान्तरमा साँघुरो हुनाले वर्षायाममा ढल बन्द भएर बाढी आउन सक्दछ । यसको लागि सरकारी–स्तरमा सम्बन्धित नगरपालिका, उपमहानगरपालिका, तथा महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन गर्ने गरी योजना बनाउन जरुरी छ । 
  • जलवायु परिवर्तनले निम्त्याउने अनिश्चित अत्यधिक बर्षासँग अनुकूल हुने गरी र अधिकतम् पानीको बहावलाई थेग्न सक्ने हिसाबले इन्जिनियरिङ डिजाइन गर्न जरुरी छ । क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।
  • शहरी क्षेत्रमा बर्षायामको आकाशे पानी संकलन गर्ने र साथसाथै हरित क्षेत्रको विकास गर्ने तर्फ प्राथमिकता दिानुपर्छ । शहरी क्षेत्रमा भएका पोखरी पानी संकलन गर्न उपयोगी हुन्छन् जसबाट जमीनमा पानी रिचार्ज हुन्छ र साथै शहरी बाढीको व्यवस्थापन तर्फ मद्दत पुग्ने देखिन्छ।
  • जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । प्लाष्टिक, सिसा तथा अन्य वस्तु ढलमा पठाउन नहुने, समय–समयमा ढललाई सरसफाइ गर्नुपर्ने र वातावरणीय क्षति न्यूनीकरण गर्न के गर्ने भनी प्रशिक्षण पनि दिन सकिन्छ । 

उपरोक्त उपायहरू अवलम्बन गरिँदा शहरी बाढीको जोखिमलाई धेरै हदसम्म नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने छ । साथै जोखिम न्यूनिकरण गर्न एकिकृत पर्वतिय विकास केन्द्र ९इसिमोड० ले जलवायु परिवर्तन र पानीको व्यवस्थापन सम्वन्धि वृहत अध्ययन गरिरहेको छ र विभिन्न स्तरमा ज्ञान आदान प्रदान गर्दै आइरहेको छ ।